नेपालको कोशी प्रदेश सुदूर पूर्वको झापा जिल्लाको पूर्व दक्षिण पूर्व पश्चिम राजमार्गबाट १६ कि.मि. दक्षिणमा अवस्थित यो अस्पताल भद्रपुर नगरपालिका वडा नं. ८ मा रहेको छ। भौगोलिक दृष्टिकोणले सुगम अनि मानव विकास सूचकाङ्कमा तेस्रो स्थानमा रहेको झापा जिल्लाको सदरमुकाममा रहेको यो अस्पतालको स्थापना २०१४ सालमा १५ शैयाको भद्रपुर अस्पतालको रूपमा सञ्चालन भएको हो। त्यसपछि वि.सं. २०३४ सालमा तत्कालीन अञ्चलाधीश छिरिङ तेन्जिङ लामाको सक्रियतामा विभिन्न उद्योगपति, समाजसेवी अन्य व्यक्तित्वहरूसँग सहयोग लिई यस अस्पतालको दुईतले भवन निर्माण गरी ५० शैयाको अञ्चल अस्पतालको रूपमा सञ्चालनमा आएको हो। त्यतिबेला इमर्जेन्सी सेवाको लागि छुट्टै भवन नभएकाले ५ शैयाको रूपमा यसै भवनभित्र सञ्चालनमा रहेको थियो।
वि.सं. २०५५ सालमा स्थानीय व्यापारी, उद्योगपति, चन्दा दाताहरूबाटै रकम सङ्कलन गरी १० शैयाको छुट्टै भवन बनी हालसम्म सोही भवनमा इमर्जेन्सी सेवा प्रदान गरिँदै आएको छ। NYOF (Nepal Youth Organizational Foundation) को सहयोगमा छुट्टै पोषण गृह निर्माण गरी विगत १० वर्षदेखि वि.सं. २०६२ सालदेखि पोषण गृह सञ्चालनमा रहेको छ।

वि.सं. २०६४ देखि नेपाल-भारत मैत्री सङ्घमार्फत भारत सरकारको सहयोगमा २५ शैयाको प्रसूति गृह निर्माण गरिएको हाल प्रसूति तथा स्त्रीरोग वार्ड छुट्टै भवनमा सञ्चालनमा रहेको छ र मिति २०८२।०५।३० देखि अन्तरङ्ग विभागका सम्पूर्ण सेवाहरू नवनिर्मित भवनबाट सञ्चालनमा आएको छ।
यस अवधिमा यस अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, प्रसूति सेवा, शल्यक्रिया द्वारा प्रसूति सेवा, आई.सि.यु., फिजियोथेरापी सेवा लगायत ५० शैयामा हुनुपर्ने २६ प्रकारका शतप्रतिशत सेवाहरू सञ्चालन गरिएका छन् साथै पोषण पुनर्स्थापना केन्द्र, ओ.पि.डी. सेवा पनि सञ्चालनमा रहेको छ।

UNFPA को सहयोगमा १ तलाको भवन बिरामी कुरुवा घरको रूपमा सञ्चालनमा रहेको छ। वि.सं. २०७९।४।१० गते मन्त्रिपरिषद्को निर्णयबाट मेची अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालको रूपमा घोषणा गरिएको थियो र मिति २०७९।०६।०६ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार २०० बेडमा स्तर उन्नति गरिएको थियो।

तथापि बिरामीको उच्च चाप, भौतिक पूर्वाधारको अभाव र जनशक्ति पर्याप्त नभएको कारणले सेवाग्राहीबाट बेला बेलामा जनगुनासो समेत आउने गरेको छ। तथापि सीमित स्रोतसाधनको उच्चतम प्रयोग गरी अधिकतम व्यवस्थापन गरिँदै आएको र आगामी दिनमा समेत मन्त्रालयको निर्देशन, सरोकारवाला निकाय र सेवाग्राहीहरूको सुझावलाई शिरोधार्य गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउँदै अधिकतम गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन प्रतिबद्ध रहेको छ।